५ मंसिर २०८१, बुधबार 1732093801
समाचार

भारतीय राजदूतावासद्धारा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना

काठमाडौं । भारत र नेपालका स्टार्टअपहरुलाई एक ठाँउमा ल्याउन भारतीय राजदूतावास, काठमाडौंले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चसँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’ को आयोजना गरेको छ ।

मंगलबार दुई देशहरुका स्टार्टअपहरुबिच सम्पर्क विस्तार गर्ने उद्देश्यले भारतीय स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गरे । उनले वित्तीय समावेशीकरण र स्टार्टअपमा जे ए एम ट्रिनिटी (जन धन योजना, आधार एण्ड मोवाइल नम्बर) जस्ता डिजिटल सामाग्रीको महत्वबारे चर्चा गरे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले डिजिटल नेपालको विषयमा विस्तृतमा जानकारी दिनुका साथै नेपालले आर्थिक वर्ष २०७९/०८० (सन् २०२३) लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षको रुपमा मनाउने तयारी गरेको जानकारी दिए ।

उनले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रुपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले “नेपालमा स्टार्टअप अवसरहरु” विषयमा प्रस्तुति दिए । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले “स्टार्टअप इन्डिया स्किम” विषयमा प्रस्तुति दिए । सन् २०१६ जनवरी १६ मा सुरु गरिएको यो स्टार्टअप इन्डिया स्किमले भारतमा ४२०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सीड फन्डमार्फत सहयोग पुर्याएको छ । सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारे पे नियर बाइ का प्रमुख कार्यकारी अधिकृत आनन्द बजाजले जानकारी दिए ।

पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरहरुबारे केन्द्रित थियो । सस्तोडिलका प्रमुख कार्यकारी अधिकृत अमुन थापाले फिल्पकार्टसँगको सहकार्यबारे बताए ।

एप वान सफ्ट का अध्यक्ष विश्वास ढकालले फोन पे र इ सेवा भुक्तानी सेवाहरुबारे जानकारी दिए । त्यस्तै टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले ई–कमर्श, लजिस्टिक तथा डिजिटल भुक्तानीले कसरी एकसाथ काम गर्छ भन्ने बारे प्रस्तुति दिए । भारतीय फिनटेक कम्पनी लेभरेज एडुका अक्षय चतुर्वेदीले नेपाली बजारमा आफ्नो कम्पनीले गरेको विस्तार बारे जानकारी दिए ।

दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङ्ग अवसरहरुबारे केन्द्रित थियो । टिम भेञ्चर्सकाका प्रमुख कार्यकारी अधिकृत तेन्जिङ्ग गोन्सारले नेपाली फन्डिङ्ग इकोसिस्टमबारे जानकारी दिए ।

भारतका प्रोजेक्ट एण्ड स्टार्टप्स,इन्टर्नेट एण्ड मोवाइल असोसिएसनका अध्यक्ष सन्दीप झिंग्रानले प्रारम्भिक चरणमा रहेको आफ्नो प्रोग्राम मोवाइल टेन एक्सबारे विस्तृत जानकारी दिए । भर्चुअलि कार्यक्रममा सहभागीता जनाएका हैदरावाद एञ्जल्सका प्रमुख कार्यकारी अधिकृत रत्नाकर सामवेदमले पि पि पिको विशेष एएए मोडलबारे बताए । उनले तेलाङ्गना र नेपालका स्टार्टअप इकोसिस्टमबीचको समानता बारे पनि बताए । स्टार्टअप व्यवसायमा आबद्ध हुन चाहनेहरुका लागि स्टार्टअप इन्डिया स्किमबाट सिकेका पाठहरु र सीड फन्ड मोडल बारे पनि जानकारी दिइयो ।

भारत–नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्धन गर्ने उद्येश्यले दूतावासले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।