काठमाडौं । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् ।
धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिनुभयो । घाइत ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ ।
निमित्त प्रजिअका अधिकारीले घाइतेलाई अस्पताल पु¥याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताउनुभयो । यही माघ ६ गतेदेखि सुरु भएको महोत्सव उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको थियो । रासस