काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता कार्यकताले पार्टीका नेताहरूलाई आफू कुन पार्टीका नेता तथा कार्यकर्ता हौं ? भनेर प्रश्न गरेका छन् । प्रदेश समितिका नेताहरूले बैठकमा नेतृत्वमाथि यस्तो प्रश्न गरेका हुन् ।
बैठकमा सहभागी नेताहरूले जर्नादन शर्मा र रामकार्कीलाई हामी कुन पार्टीका नेता तथा कार्यकर्ता हौं ? भन्दै प्रश्न गरेका थिए । उनीहरूले आक्रोशित हुँदै थप भने ‘कहिले कांग्रेसलाई भोट हाल्न लाउनु हुन्छ,कहिले एमालेलाई ? हामीले हाम्रो चुनाव चिन्हमा भोट हाल्न पाएनौं ।’
माओवादीको प्रदेश १ समितिको पूर्ण बैठकमा सहभागी प्रदेश सदस्यहरुले पार्टी आफ्नो नीति र सिद्धान्तमा नहिँडेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
बिहीबारबाट विराटनगरमा शुरु भएको प्रदेश समितिको बैठकमा बोल्ने अधिकांश प्रदेश सदस्यहरुले पार्टीले आफ्नो सिद्धान्त र नीति छाड्दै हिँडेको र अब कहाँ पुग्ने भन्ने बाटोबाट समेत विमूख भएको बताए।
बिहीबार प्रदेश समितिका ३५ जना सदस्यहरुले बोल्दै पार्टीका अबको गन्तव्य कहाँ हो ? भन्दै नेताहरु समक्ष प्रश्न गरे। बैठकमा सहभागी हुन माओवादीका उप महासचिव तथा स्थायी कमिटी सदस्य जर्नादन शर्मा र स्थायी कमिटी सदस्य राम कार्की समेत आएका छन्।कार्की माओवादी प्रदेश कमिटीका इन्चार्ज समेत हुन्।