७ मंसिर २०८१, शुक्रबार 1732290961
समाचार

सांसद भण्डारीको सबै ‘पारामिटर नर्मल’

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ। ग्यास सिलिन्डर लिग भएर आगलागीमा परेका उनलाई नेपालमा उपचार सम्भव नभएपछि भारत लिएको थियो । उनलको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो। उनको उपचारमा संलग्न डा.धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको कांग्रेसले जनाएको छ । बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। उनको आमाको उपचारको क्रममा बिहीबार मृत्यु भइसकको छ ।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा.मुकेशबाट प्राप्त भएको पनि कांग्रेसले जनाएको छ ।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ।

घटनालगत्तै उनीहरू दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।