४ भदौ २०८३, बिहिबार 1787213849
Banner

दुर्गा प्रसाईंसहित ८१ जनालाई कारबाही गर्न सिफारिस

काठमाडौं। नेकपा एमालेको प्रदेश १ कमिटीले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ। शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।

एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरुलाई कारबाही गरिएको बताए। उनले बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको जनाकारी दिए।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको छ। बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो। केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो। मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्।