१० मंसिर २०८१, सोमबार 1732526160
खेलकुद

लिग-२ मा आज : विश्वकप छनोट सम्भावना बचाउन यूएईलाई जित्नुपर्ने दबाबमा नेपाल

काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल आज यूएईसँग भिड्दै छ। नेपाल र यूएईबीच दोस्रो खेल हुन लागेको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा नेपाल यूएईविरुद्ध पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा यूएईले नेपाललाई हराएको थियो।

यो खेल नेपालले जिते दुवै टोलीका लागि विश्वकप छनोटको सम्भावना कायम रहनेछ। तर नेपाल हारेको अवस्थामा भने नामिविया र यूएईमध्ये एक टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन्।

यी तीन देशले अन्तिम चरणका खेल नेपालमा खेल्नेछन्। सोमबार नेपालले यूएईलाई हराएको खण्डमा दुवै टोलीलाई बाँकी ४ खेल जित्नैपर्ने दबाब हुनेछ।

नामिवियाको ३९ अंक हुँदा समान ३१ खेल खेलेका नेपालको ३० र यूएईको ३१ अंक छ।

लिग २ मा पीएनजी भने अन्तिममा छ। बाँकी नतिजाले पनि उसको तालिकामा सुधार हुने छैन। स्कटल्यान्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाइसकेका छन्।

तालिकाको चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक मात्रै छ। उसको विश्वकप छनोट खेल्ने सम्भावना सकिएको छ।

विश्वकप छनोट खेल्न नपाए पनि अहिलेकै अवस्थामा आईसीसीबाट एकदिवसीय मान्यता कायम राख्न शीर्ष ५ मा पर्नु पर्नेछ।

यस्तोमा आइतबार यूएई पीएनजीसँग हार्दा एकदिवसीय मान्यता जोगाइरहन नेपाललाई सजिलो भएको छ। त्यसका लागि अब नेपालले बाँकी ५ मध्ये ३ खेल जित्नुपर्नेछ।