८ मंसिर २०८१, शनिबार 1732380156
Banner

राष्ट्रपति निर्वाचनका लागि प्रचार प्रसारको समय सकियो

काठमाडौं । निर्वाचन आयोगले फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको जनाएको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको हो।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । उमेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ ।

आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने आयोगले जनाएको छ ।

राष्ट्रपति पदका लागि नेकपा एमालेका नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारी छ ।