त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ । विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भए पछि रोकिएको छ । जिल्लामा तीन आङ्गिक कलेज र १७ सामुदायिक कलेजमा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर, आइतबार हुनुपर्ने निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी सङ्गठन स्थानीय प्रशासन र कलेज प्रशासनलाई दबाब दिइरहेका छन् । अहिलेसम्म जिल्लाका १५ भन्दा बढी क्याम्पसको ताला खुल्न नसकेको विद्यार्थी सङ्गठनले जनाएका छन् । ती क्याम्पसमा निर्वाचन अनिश्चित छ । माडी क्याम्पस माडी, उमावढी शेरचन कलेज दिव्यनगर, प्रेमबस्ती कलेज प्रेमबस्ती, सहिद स्मृति कलेज टाँडी, सहिद स्मार कलेज शारदानगर, अरुणोदय कलेज गीतानगरमा निर्वाचनको तयारी छ । नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन अनिश्चित बन्नु सामान्य कुरा नरहेको बताउनुभयो । क्याम्पस प्रशासन र निर्वाचन समितिको कमजोरीका कारण निर्वाचन प्रक्रियाअन्तर्गत दल दर्ता भएपछि निर्वाचन रोक्नु भनेको त्रुटि भएको उहाँले बताउनुभयो । सङ्घ निर्वाचनको पक्षमा रहेको भन्दै उहाँले क्याम्पस निर्वाचन गर्न तयार नभएको बताउनुभयो । नेविसङ्घका कारण कतै अवरोध नभएको उहाँको दाबी छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनका अध्यक्ष प्रकाश कालाखेतीले स्ववियु निर्वाचन तत्काल हुनुपर्ने माग गर्नुभयो ।
निर्वाचनको मुखमा आएर छाएको अन्यौलताले आफूहरुलाई सशङ्कित बनाएको उहाँको भनाइ थियो । निर्वाचन अधिकृत र क्याम्पस प्रशासन निर्वाचनबाट भाग्न खोजेको उहाँको आरोप छ । भुवानी शङ्कर कलेज खैरहनीमा निर्वाचनको प्रक्रिया नै सुरु हुन नसकेको र अन्य कलेजहरुमा प्रक्रिया सुरु भएर स्थगित भएको उहाँले जानकारी दिनुभयो । अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इन्चार्ज अविनाश रम्तेलले धेरै जसो कलेजमा निर्वाचन नहुने देखिएको बताउनुभयो । विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच सहमति जुट्न नसक्दा निर्वाचनको माहोल बन्न नसकेको उहाँले बताउनुभयो । आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसक्ने स्थिति रहेको उहाँको भनाइ छ ।