काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले नेपाली राजनीतिमा अपरिहार्य पुस्तान्तरण गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामको विश्लेषण गर्दै उनले अबको राजनीतिलाई ‘डिजिटल र एआई’ युगतर्फको फड्कोका रूपमा अर्थ्याएका हुन् ।
डा. भट्टराईले नयाँ संसद्मा युवाको उपस्थितिलाई प्रमुख उपलब्धिका रूपमा लिएका छन् । “४० वर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो भन्ने हो,” उनले भनेका छन् ।
निर्वाचन परिणामको व्याख्या विभिन्न ढंगले भइरहने उल्लेख गर्दै उनले यसपटकको परिणामले राजनीतिमा पुस्तान्तरणको प्रक्रियालाई ‘उल्टाउनै नसक्ने’ गरी स्थापित गरिदिएको दाबी गरे ।
परिवर्तित राजनीतिक माहोल र युवाको आकर्षणलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य संकटमा पर्ने उनले चेतावनी समेत दिएका छन् । भट्टराईले लेखेका छन्, “यो तथ्यलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ, आफैँ बुझ्ने कुरा हो ।”
पछिल्लो निर्वाचनमा ठूला र पुराना दलको तुलनामा युवा उम्मेदवार र नयाँ राजनीतिक शक्तिको उदयलाई भट्टराईले प्रविधिको युगसँग जोडेर टिप्पणी गरेका हुन् ।


