९ मंसिर २०८१, आइतबार 1732477648
Banner

भौतिक छाडेर नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी थालेका छन् । सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ । माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ। साझेदार दलका अन्य साना दललाई १-१ मन्त्रालय दिने बताइएको छ।

योसँगै माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने बताइएको छ । स्रोतका अनुसार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना प्रबल जस्तै रहेको छ। माओवादीले गृह मन्त्रालय पाउने अवस्था देखिएको र उनले भौतिक छाडेर गृह मन्त्रालय पाउन सक्ने देखिएको हो।

त्यसलाई बल पुग्नेगरी श्रेष्ठले आइतबार पत्रकार सम्मेलन राखेका छन् । १२ बजे मन्त्रालयमा राखिएको पत्रकार सम्मेलनमा मन्त्रालयबाट भएका कामकारबाहीबारे ब्रिफिङ हुने प्रेस संयोजक कमल गिरीको भनाइ छ।
तर, आइतबार एक सय दिन पुगेको उपलक्ष्यमा पत्रकारलाई मन्त्रालयको कामकारबाहीबारे जानकारी गराउन खोजिएको बताइएको छ ।

नेताहरुका अनुसार मन्त्रालयको भागबण्डा हुँदा माओवादीले गृह र कांग्रेसले अर्थ मन्त्रालय पाउने सकारात्मक माहोल बनेको छ । यस्तो अवस्थामा माओवादीले भौतिक मन्त्रालय पाउने सम्भावना कम छ । सोही कारण श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना धेरै रहेको बताइएको छ ।

उसो त सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीले समेत आफ्नो मन्त्रालय फेरिदिन प्रचण्डलाई आग्रह गर्दै आएका छन् । आफूलाई अन्य मन्त्रालय दिएमा थप नतिजा निकाल्न सक्ने मोदीको भनाइ रहँदै आएको छ । हाल माओवादीबाट श्रेष्ठ र मोदीसहित सञ्चारमन्त्रीमा रेखा शर्मा, पर्यटनमा सुदन किराती र पर्यटन राज्यमन्त्रीमा सुशीला सिर्पाली रहेका छन् ।

यस्तै जनमतबाट अब्दुल खान मन्त्री रहेका छन् । बाँकी मन्त्रालय भने हाल प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् । सबै विषयमा आइतबार दलहरु बसेर टुंगो लगाउँदै सोमबारसम्मका मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ । मन्त्रिपरिषद्को कामलाई टुंगो लगाएर सरकारलाई गति दिने प्रचण्डको योजना छ ।