९ मंसिर २०८१, आइतबार 1732450186
Banner

मिटरब्याज पीडितहरू खुलामञ्चमा शिविर बनाएर बस्नु शंकास्पद : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको बताएका छन्।

मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प्रष्टीकरण दिँदै उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको बताए।

सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले भनेका छन्, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’

पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतामाथि निर्मम प्रश्न गरिरहेको उनले बताएका छन्।

पीडितहरूको यो अवस्थाले गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको उल्लेख गर्दै उनले संघीय सरकारलाई पीडा सम्बोधनका लागि अतिशीघ्र चासो दिन आग्रह पनि गरेका छन्। उनले आन्दालेनलाई आफ्नो ऐक्यबद्धता पनि जनाएका छन् ।

मेयर बालेन शाहको फेसबुक स्टाटस