९ मंसिर २०८१, आइतबार 1732470439
राजनीति

राहदानी विभागका टोली पोर्चुगलमा, ५ हजारभन्दा बढीको पासपोर्ट बन्ने

काठमाडौं। युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली २९ मार्चमा पोर्चुगल आएर काम थालेको छ।

झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट ५ हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ । टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ।

पोर्चुगलमा राहदानी अभावमा धेरै नेपालीले दुःख पाएको गुनासोपछि विभागले घुम्ती टोली पठाएर सम्बन्धित ठाउँबाटै वितरणको व्यवस्था मिलाउने निर्णय गरेअनुसार विभागको टोली त्यहाँ पुगेको हो।

टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरू गरेको छ। लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो।

बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए।

यसैगरी दोश्रो दिन विहीबार २९ जनाको दरखास्त सङ्कलन भएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले बताए।

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए।