काठमाडौं। एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन्। शुक्रबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताए।
‘भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उहाँले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गर्नुभएको छैन’, पौडेलको भनाइ छ । उनले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताए ।
‘उहाँ पार्टीको निर्णय मानेर चल्नुभएको छैन। उहाँले अनुशासन पनि उल्लङ्घन गर्नुभएको छ। पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन्’, उपाध्यक्ष पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। घरी उहाँ पत्रकार सम्मेलन गर्नुहुन्छ, घरी प्रतिक्रियात्मकता ओर्लनुहुन्छ। कहिले अधुरा सूचनाका आधारमा प्रतिक्रियामा ओर्लनुहुन्छ।’