९ मंसिर २०८१, आइतबार 1732457658
Banner

रवि लामिछानेविरुद्ध परेका ४ उजुरीको आज टुंगो लगाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उमेदवार रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा आज रविले स्पष्टीकरण बुझाउनु पर्नेछ ।

रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको हो । बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

३ वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । अन्य ३ जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो । रविको उजुरीको स्पष्टीकरण पछि निर्वाचन आयोगमा पठाइने बताइएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्नेछन् ।