९ मंसिर २०८१, आइतबार 1732441002
कला/साहित्य

‘क्यानभासमा सत्यमोहन बा’ प्रदर्शनी

ललितपुर । योङ्ग पिकासोको आयोजनामा पाटन संग्रहालयमा ‘क्यानभासमा सत्यमोहन बा’ चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । संस्कृतिविद् शताब्दी पुरुष स्व.सत्यमोहन जोशीको देहत्यागको अर्धवार्षिकी पुण्यतिथिमा उक्त प्रदर्शनीको आयोजना गरिएको हो।

प्रदर्शनीमा राखिएका चित्रहरु योङ्ग पिकासोले २०७६ सालमा स्व.जोशीको सताब्दी जन्मोत्सवमा आयोजना गरिएको दोश्रो राष्ट्रिय चित्रकला प्रतियोगितामा करिब ४०० चित्रकारहरुले कोरेका प्रत्यक्ष चित्रहरुमध्ये ४० चित्रलाई प्रदर्शनीमा राखिएको छ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। उद्घाटनका क्रममा गोदावरी नगरपालिकाको बडिखेलका १९ जना बालबालिकाले कोरेका जोशीको मुहारचित्र उघारेर प्रदर्शनी उद्घाटन गरिएको थियो।

कार्यक्रममा उद्घाटनका लागि प्रयोग गरिएको चित्र कोर्न क्यानेडियन चित्रकार जिनिभिई साभार्डले बालबालिकालाई ४ दिने प्रशिक्षण दिएकी थिइन्। प्रशिक्षणका लागि बडिखेल बचत तथा ऋण सहकारी संस्थाले गरेको समन्वय गरेको सहकारीका अध्यक्ष श्याम प्रसाद आचार्यले जानकारी दिए।

कार्यक्रममा चित्र कोर्ने बालबालिकाहरुलाई प्रमाण पत्रसमेत प्रदान गरिएको थियो। प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै ललितपुर महानगरकी उपप्रमुख शाक्यले स्व.सत्यमोहन जोशीको अर्धवार्षिक पुण्यतिथिमा गरिएको प्रदर्शनीले स्व.जोशीलाई चित्रमार्फत सम्झिएको बताइन्।

जोशीको योगदानकै कारण देशमा भाषा, संस्कृतिको खोज हुनसकेको चर्चा गर्दै देशले महापुरुष गुमाएको भाव ब्यक्त गरिन्।

साहित्यकार आरसी न्यौपानेले स्व.सत्यमोहन जोशी काठमाडौं उपत्यकाको मात्र नभई समग्र देशको बा बनेको बताए। उनले जोशीले बहुसांस्कृति, बहुभाषिक देशलाई एक सुत्रमा जोड्न योगदान दिएको विषयमा जोड दिए।

पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखेले सत्यमोहन जोशीको योजनामा पाटन संग्रहालयका विभिन्न क्षेत्रलाई व्यवस्थापन गर्न सहयोग पुगेको बताए। स्व.जोशीको सम्मानमा प्रदर्शनी आयोजना गर्ने योजनाले जोशीलाई जनमानसमा अझै ताजा राख्ने भाव व्यक्त गरे।

योङ्ग पिकासोकी कार्यक्रम संयोजक सितु मास्केले देशकै सबैभन्दा बढी चित्रकारले एकै व्यक्तिको मुहार चित्र कोरिएको सबैभन्दा ठूलो कार्यक्रममा छनोट गरिएको चित्र प्रदर्शनीमा राखिएको जानकारी दिए।

समारोहमा बार्षिक रुपमा दिँदै आएको १० हजार राशीको योङ्ग पिकासो पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शान्त धाख्वालाई प्रदान गरिएको थियो। ७ दिनसम्म चल्ने उक्त प्रदर्शनीलाई करिब ५ हजारले अवलोकन अनुमान गरिएको योङ्ग पिकासोका निर्देशक अजय देशारले जानकारी दिए। चित्रकला प्रदर्शनी चैत ३० गतेसम्म चल्नेछ।