काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ । हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि निर्वाचन हुर्दैछ ।
विधानअनुसार बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । लुम्बिनी प्रदेश र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य पदमा सर्वसहमति भएको छ । नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् ।
आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।
महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र (जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएट) मा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ । जिल्ला–नगर वाणिज्यतर्फ सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
यस्तै वस्तुगत उपाध्यक्षमा शकुन्तला हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल उम्मेदवार छन् । एसोसिएट उपाध्यक्ष पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुनेछ ।
तीन उपाध्यक्ष पदका ८ उम्मेदवारमध्ये जिल्ला–नगरका दिनेश श्रेष्ठ, वस्तुगतका हेमराज ढकाल र एसोसिएट्सका भरत आचार्य उमेशलाल श्रेष्ठ प्यानलका हुन् ।
यस्तै अञ्जन श्रेठ प्यानलमा सुरकृष्ण श्रेष्ठ र अरुणराज सुमार्गी छन् । जिल्ला–नगर उपाध्यक्षका उम्मेदवार सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षका शकुन्तलाल हिराचन र एसोसियट्सका ज्योत्सना श्रेष्ठ रामचन्द्र संघाइ प्यानलका हुन् ।
सात प्रदेशबाट निर्वाचित हुने ७ जना कार्यसमिति सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेश सदस्य निर्विरोध भएपछि अन्य ६ स्थानका लागि १४ जना प्रतिस्पर्धामा छन् । कोशी प्रदेशबाट टंकप्रसाद दुलाल, नरेन्द्रकुमार खड्का र तारानाथ घिमिरे प्रतिस्पर्धामा छन् ।
मधेश प्रदेशबाट विजयकुमार साह र अरुणकुमार प्रधान उठेका छन् । बागमती प्रदेशमा कृषिप्रसाद अवाल र सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ भने गण्डकी प्रदेशमा जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारी प्रतिस्पर्धामा छन् । त्यस्तै लुम्बिनीमा शम्शेर मियाँ निर्विरोध हुँदा कर्णाली प्रदेशमा लालमान बूढा, धनबहादुर राउत क्षेत्री र कुलबहादुर विश्वकर्मा प्रतिस्पर्धामा छन् ।
सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि रामबहादुर भण्डारी र जंगबहादुर मल्ल प्रतिस्पर्धामा छन् । संस्थापक सदस्य समूहतर्फको एकल कार्यसमिति सदस्य पदका लागि भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा छन् । यस्तै जिल्ला–नगर, वस्तुगत र एसोसिएटबाट कार्यसमितिमा चुनिने ५१ सदस्यका लागि ९० जना प्रतिस्पर्धामा छन् ।
वस्तुगत संघबाट निर्वाचित हुने १४ कार्यसमिति सदस्य पदका लागि २८ जना प्रतिस्पर्धामा छन् । यस्तै, उद्योग वाणिज्य संघबाट निर्वाचित हुने १८कार्यसमिति सदस्यमा ३२ जना र १९ एसोसिएट कार्यसमिति सदस्यका लागि ३० जना प्रतिस्पर्धामा छन् ।