८ मंसिर २०८१, शनिबार 1732349702
विश्व

सुडान झडपमा मृत्यु हुनेको सङ्ख्या १७४ पुग्यो

काठमाडौं । सुडानी सेना र र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सुडानको राजधानी खार्तूमको मध्य भागमा रहेको सेनाको जनरल कमाण्ड नजिकै बुधबार पनि हिंसात्मक विष्फोट हुँदा झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुडानी सेनाले आरएसएफको नयाँ आक्रमणको प्रतिकार गरिरहेको बुधबार पुष्टि गरेको छ । सुडानी सेनाका प्रवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शत्रुले ठूलो जनधनको क्षति बेहोर्नुका साथै थुप्रै लडाकू सवारी साधन नष्ट गरेको छ ।”

प्रत्यक्षदर्शीका अनुसार खार्तूम विमानस्थलमा इन्धन ट्याङ्की विस्फोट हुँदा ठूलो धुवाँको मुस्लोले ढाकेको थियो । खार्तूमको उत्तरमा रहेको कफौरी क्षेत्रमा रहेको आरएसएफ क्याम्पमा बुधबार बिहान पनि हिंसात्मक झडप भएको थियो । एजेन्सी