काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्री तथा अधिकमत तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस छ ।