चितवन–२ को मतगणना सुरु गर्नका लागि सोमबार बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक तय भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजेका लागि सर्वपक्षीय बैठक बोलाइएको जनाएको हो ।
बैठकमा सम्बन्धित उम्मेदवार वा निजको प्रतिनिधि गरी २ जनाका दरले उपस्थितिका लागि अनुरोध गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । आइतबार सम्पन्न उपनिर्वाचनको सम्पूर्ण मतपेटिका संकलन गरेर मतगणना स्थलमा लगिएको भएपनि कांग्रेसका अडानका कारण साँझ बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको थिएन ।
कांग्रेसले रास्वपाका उम्मेदवार रवि लामिछानेविरुद्ध परेको उजुरीको छिनोफानो नभएसम्म आफूहरुले मतगणना हुन नदिने अडान लिएको छ । चितवन २ मा लामिछाने, कांग्रेसका जीतनारायण बस्नेतसहित २२ जना उम्मेदवार रहेका छन् ।