१० मंसिर २०८१, सोमबार 1732522163
Banner

शंकर कँडेल मृत्यु प्रकरण : ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

काठमाडौं। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा उनका परिवारले ६ जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन्।

मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै आत्महत्या दुरूत्साहन मुद्दामा उनको परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । कँडेलले सुसाइड नोटमा नाम उल्लेख गरेका ६ जना विरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा किटानी जाहेरी दिइएको छ ।

अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल लगायतविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका ३, बेलचोकस्थित आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएको अवस्थामा कँडेल मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।