१० मंसिर २०८१, सोमबार 1732530446
अर्थ

सबै सम्पति हस्तान्तरण गर्न स्मार्ट टेलिकम प्रालिलाई प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिलाई आफ्नो स्वामित्वमा रहेको सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिएको छ।

लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको घोषणा गर्दै उक्त निर्देशन दिएको हो।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अनुमतिपत्र बहाल नरहेका दूरसञ्‍चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्‍चार पूर्वाधार संरचना, दूरसञ्‍चार प्रणाली र दूरसञ्‍चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको हो।

स्मार्टले नवीकरण दस्तुरका रुपमा मात्रै कुल २० अर्ब, १३ करोड २७ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो। तर, ७५ करोड मात्रै तिरेर कम्पनीले नवीकरणका लागि तोकिएको ३ वैशाखसम्म आवेदन नै दिएन। राजनीतिक लबिइङ गरेर पछि तिर्ने गरी वातावरण बनाउने कम्पनीका लगानीकर्ताको प्रयास पनि सफल भएन।

नवीकरण दस्तुरसहितको राजस्व समयमै नतिरेपछि १३ भदौ २०७६ मा पनि प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । तर, २१ पुस, २०७६ को मन्त्रिपरिषद् बैठकले ५ वटा किस्ताबन्दीमा बक्यौता रकम तिर्ने सुविधा दिनेगरी खारेजीको निर्णय बदर गरेको थियो । सरकारले २०७७ असार मसान्तसम्म बाँकी बक्यौताको पहिलो किस्ता तिर्न र बाँकी ४ किस्ता प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म तिर्न सुविधा दिएको थियो ।

अब स्मार्ट टेलिकमको सञ्चालन प्राधिकरणका सञ्चालक गोकर्ण सिटौलाको नेतृत्वमा रहेको व्यवस्थापन समूहले गर्नेछ । सो समितिले कम्पनीको सञ्चालक समिति सरह काम गर्नेछ ।