१० मंसिर २०८१, सोमबार 1732577988
Banner

केवल नेटवर्कले तार व्यवस्थापन नगरे महानगरले काट्ने चेतावनी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले जडान गरेका केवल नेटवर्कका तार व्यवस्थापन नगरे तार काटिदिने काठमाडौं महानगरपालिकाले चेतावनी दिएको छ।

महानगरले सूचना जारी गर्दै वैशाख २७ सम्म तार व्यवस्थापन गर्न भनेको छ। सूचनामा दिइएको म्याद सकिएका दिनसम्म व्यवस्थापन नगरे आफूहरूले तार काट्ने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

‘सूचनाको मिति सकिएपछि पनि व्यवस्थापन भएन भने हामी तार काट्छौं,’ उनले भने, ‘सधैं काम गर्न खोज्दा काम गर्न नदिएर हुन्छ ? सबैको आज्ञा मानिराख्न जरूरी हुँदैन, हामी तार काट्छौं।’

गुजुल्टो परेका तारमा आगलागी हुने खतरा रहेकाले जनताको जिउधन असुरक्षित भएको उनले बताए।

सम्बन्धित निकायसँग धेरै पटक समन्वय गर्न खोज्दा पनि अटेर गरिएको मानन्धर बताउँछन्। तारकै कारण हुने गरेका दुर्घटना महानगरले हेरिबस्न नसक्ने हुँदा ३२ वटै वडाका तार वडा तहबाटै भए पनि काट्ने उनले बताए।

महानगरको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्ले तार व्यवस्थापन गर्ने विषयमा पहिलेदेखि नै कुराकानी भएको बताए।
‘पहिले हामीले विद्युत प्राधिकरणसँग तार व्यवस्थापनको विषयमा कुराकानी गरेका थियौं’ उनले भने, ‘तर त्यतिबेला सरकारी निकायसँग मात्र छलफल गर्‍यौं। निजी क्षेत्रसँग गरेका थिएनौं।’

काफ्लेका अनुसार सबै पोलका तारहरू प्राधिकरणले व्यवस्थापन गर्ने हुँदा सोहीअनुसार छलफल गरिएको थियो। निजी निकायसँग त्यसबेला छलफल नभएको हुँदा अब निजी क्षेत्रसँग छलफल गरी व्यवस्थापन गर्ने उनले बताए।