१० मंसिर २०८१, सोमबार 1732588719
राजनीति

जसपाको विधान अधिवेशन फेरि सर्ने

काठमाडौँ। जनता समाजवादी पार्टी नेपाल (जसपा)को विधान अधिवेशन फेरि सर्ने निश्चित भएको छ।

जेठ १ गतेका लागि तय भएको अधिवेशन सर्ने निश्चित भएको हो। जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले वैशाख २७ गते बस्ने कार्यकारिणी समितिको बैठकले अधिवेशनको नयाँ मिति तय गर्ने बताए।

तयारी पूरा नभएकाले जेठ १ गतेका लागि तोकिएको अधिवेशन सर्ने भएको उनको भनाइ छ। जसपाका अनुसार अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधानको मस्यौदा तयार भइसकेको छ। त्यसका लागि मागिएको सुझाव पनि लगभग सबै प्रदेशबाट प्राप्त भइसकेको छ। तर, त्यसमाथि थप छलफल गरेर अन्तिम रूप दिन बाँकी छ।

यसअघि चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको थियो। तर वैशाख १० गते भएको उपनिर्वाचनको कारण देखाउँदै अधिवेशन सरेर जेठ १ गतेका लागि तय गरिएको थियो। अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो।

विधान संशोधन मस्यौदाअनुसार जसपाले केन्द्रीय समितिको सदस्य सङ्ख्या घटाउने प्रस्ताव गरेको छ। मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ। हालको विधानमा केन्द्रीय समिति ७०१ सदस्यीय रहेको छ।

मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भन ७० वर्ष पुरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ।

यसैबीच वैशाख २७ गते बस्ने जसपाको कार्यकारिणी समितिको बैठकले मन्त्रीको बारेमा टुंगो लगाउने भएको छ। जसपाले सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार एक मन्त्री पठाउन बाँकी छ।