काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटना छानबिन गर्न चुनौती दिनुभएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताउनुभएको हो ।
‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’
अब वाइडबडी के हो ? बाँसबारी जग्गा घोटाला काण्ड के हो ? यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उहाँले यसमा एमालेले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।