९ मंसिर २०८१, आइतबार 1732432670
राजनीति

प्रदेश १ मा चर्कर्दै गएको आन्दोलनलाई गम्भिर रुपमा लिन सांसद शर्माको आग्रह

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौँ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गर्नुभएको हो ।

२०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि जग्गा रोक्का गरिएको भए पनि हालसम्म जग्गाको मुआब्जा नदिइएको र जग्गा फुकुवा पनि नगरिँदा सो क्षेत्रका जनताको बिजोक भएको भन्दै सांसद शर्माले तत्काल मुआब्जा दिन वा जग्गा फुकुवा गरेर समस्याको समाधान गर्न माग गर्नुभयो। ‘इनरुवाबाट काँकडभिट्टासम्म रेलवे बनाउने भनेर जग्गा होल्ड गरेर राखिएको छ, अहिलेसम्म मुआब्जा दिइएको छैन, न जग्गा बेच्न पाइन्छ, न जग्गाको मुआब्जा पाइन्छ, मान्छेहरूको बिजोक भएको छ,’ सांसद शर्माले भन्नुभयो, ‘सरकारले यो विषयमा ध्यान दिएर तत्काल मुआब्जा दिनुपर्‍यो, हैन भने जग्गा फुकुवा गरिदिनुपर्‍यो ।’

त्यस्तै शर्माले प्रदेश १ मा चर्कर्दै गएको पहिचानवादीको आन्दोलनलाई सरकारले गम्भिर रुपमा लिन आग्रह गर्नुभएको छ । सांसद शर्माले भन्नुभयो, ‘एक नम्बर प्रदेशमा पहिचानवादीको आन्दोलन अझै यथावत छ, मान्छेमाथि बुट र गोली प्रहार गरेर होइन बार्ताका माध्यमबाट समस्याको समाधान होस ।’ आन्दोलनकारीसँग सरकारले ततकाल वार्ता गर्नुपर्ने उहाँको भनाइ थियो ।

साथै मोरङ्गको बेलबारी ८ राधानगरमा पेटोल खानी छ भनि धेरै पहिल्यैदेखि सरकारले जग्गा घेरेर राखेको बताउनुहुँदै शर्माले पेट्रोल खानी छ भने उत्खनन गर्न परयो छैन भने सरकारले छैन भनिदिनुपर्ने उहाँको धारणा थियो ।