रुपन्देही- लुम्बिनी केबुलकारको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्नुहुने भएको छ । केबलकार उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान बुटवल आउने कार्यक्रम तय भएको छ ।
साढे तीन अर्ब लगानीमा बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गर्नुभएको थियो । केबलकारको उद्घाटन समारोह टप स्टेशन वसन्तपुरमा साढे १० बजेपछि हुने लुम्बिनी केबलकार प्रा.लि.ले जनाएको छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै पुर्व अर्थमन्त्री पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका नेताहरु सहभागी हुने प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।