१० मंसिर २०८१, सोमबार 1732551474
Banner

नेपाल भ्रमण किन गर्ने ? भन्ने बिषयलाई प्रमुख आधार बनाएर मैले विदेशी पर्यटक आकर्षित गर्ने कोशिस गरे : उपमेयर सूनिता डंगोल

काठमाडौं । देशकै राजधानी काठमाडौं महानगरपालिका यतिवेला युवा नेतृत्वले हाँकिरहेको छ । महानगरपालिकाको मेयरमा बालेन्द्र शाह र उपमेयर सूनिता डंगोल निर्वाचित भएको पनि एक बर्ष पूरा भईसकेको छ । स्वतन्त्र चुनाव जितेका बालेन शाह भन्दा एमालेबाट निर्वाचित उपमेयर सूनिता डंगोलले झण्डै ७ हजार बढि मतले चुनाव जितेकी थिईन । चुनाव जितेसँगै उनीहरु महानगरपालिकामा सक्रिय भएर कार्यअगाडि बढाईरहेका छन् । स्थानीय निर्वाचन सम्पन्न भएको एक बर्ष पुरा गरेको अवसरमा सूचनाप्रेसले अति नै व्यस्त उपमेयर सूनिता डंगोलसँग हिड्दा हिड्दै गरेको छोटो कुराकानीको सम्पादित अंश :

तपाईं उप–मेयरमा निर्वाचित हुनुभएको पनि एक वर्ष पनि पूरा भयो, आफ्नो कार्यकालको पहिलो वर्षलाई कसरी हेर्नुहुन्छ ?

समग्रमा भन्नुपर्दा जे जे गर्छु भनेर मैले योजना बनाएको थिए, त्यसै अनुरुप कार्य भएको छ । पहिलो बर्ष सोचेको जस्तो नै भएको छ । हामीले प्रतिबद्धता गरेको काम अनुरुप नै हामी अगाडि बढिरहेका छौ । कति योजना बनाउने क्रममा छौ, कतिपय कार्यान्वयन गर्ने क्रममा छौ । त्यस हिसाबले हामीले गरेको प्रतिबद्धता अनुरुप नै अगाडि बढिरहेको छौ भन्ने हामीलाई लागिरहेको छ ।

यो अवधिमा जनताले अनुभूति गर्ने खालको काम कुन कुन क्षेत्रमा सुरुवात गर्नुभयो ?
स्थानीय तहको चुनाव सम्पन्न भएको एक वर्ष पुगेको छ । यस अवधिमा आफूलाई चित्त बुझने गरी काम गरेको छु । महानगरमा वडा स्तरीय काम द्रुत गतिमा भइरहेको छ । यस्तै, महानगरको केन्द्रीय स्तरको काम समेत अघि बढिरहेको छ । अहिले ठयाक्कै मैले यो यो काम गरे भनेर संम्झन सकिने अवस्था छैन । जनताले मुल्यांकन गर्ने कुरा हो काम धेरै नै भएका छन् ।

समस्याहरु चाहि कस्तो कस्तो आए, अहिले चर्चा बढि मेयर बालेन शाहको छ, उपमेयरले गरेको कामको चर्चा अलि कम भएको जस्तो पनि देखिन्छ । खासमा कसरी काम गरिरहनुभएको छ ?

पहिलो व्यक्ति भएपछि फस्ट पर्सन चर्चामा आउनु स्वभाविक नै हो । कुनैपनि कुरामा फष्ट पर्सनको कामलाई अलि बढि नै महत्व दिएर हेरिएको हुन्छ त्यसलाई अन्यथा नठानौं । अर्को कुरा पक्कै पनि काम गर्दा चुनौतीहरु आएका हुन्छन् कामको शिलसिलामा आएका चुनौतीहरुलाई चिरेर जानको लागि पहिलो बर्ष सिस्टम बसाल्ने कुरामा हामीले बढि ध्यान केन्द्रित गरयौ ।

अब अरु भनेको कतिधेरै कुराहरुमा हाम्रो कर्तव्य अधिकार भनेर राखिएपनि त्यो स्पष्ट नहुँदा समस्या देखिएको छ । अब अनुगमनकै कुरागर्दा पनि महानगरपालिकाले हेर्छ भनेर कुरा गरिरहँदा खेरी त्यसैमा स्पष्टता छैन । कति धेरै कुरामा कानुनको कार्यविधि अस्पष्ट छ त्यसले पनि कामगर्नेमा अलमल पक्कै पनि भएको छ । यद्यपी त्यसलाई चिरेर जाने क्रममा छौं ।

कतिपय नगरपालिकामा उपमेयरले गरेका निर्णय कार्यान्वयनमा समस्या छ भनेको सुनिन्छ काठमाडौं महानगरपालिकामा चाहि त्यस्तो समस्या छ कि छैन, उपमेयरले गरेका निर्णय कार्यान्वयन कतिको भएको छ ?

हामीले गरेको निर्णय अध्ययन गरेर नै गर्ने गरेका छौ । अहिलेसम्म हामीले गरेका निर्णय कार्यान्व्यन नहुने भन्ने भएको छैन, कार्यान्वयन नै भएका छन् ।

काठमाडौ महानगरपालिकामा मेट्रो रेल ल्याउने कुरा थियो, त्यो के भईरहेको छ ?
मेयर्स फोसमबाट पनि यो आवाज उठिरहेको छ । यो काठमाडौं महानगरपालिकासँग मात्र जोडिएको बिषय पनि होईन । यो उपत्यका नै जोडिएको बिषय भएकाले मेयर्सहरुले छलफल गरेर टुंग्याउने कुरा भईरहेको छ । यो लामो प्रक्रिया भएकाले काम सकाउन समय लाग्छ ।

काठमाडौं महानगरपालिकाबाट अरु नगरपालिकाले के के कुरा सिक्न सक्छन् ?
यो सिक्ने भन्ने कुरा काठमाडौं महानगरपालिकाबाट मात्रै सिक्नुपर्छ भन्ने होइन । महानगरले पनि अरु पालिकाबाट सिक्न सक्छ अरु नगरपालिकाले पनि हाम्रो महानगरपालिकाबाट सिक्न सक्छन् । सिक्ने र सिकाउने भन्ने कुरा जसले राम्रो काम गदै अगाडि बढिरहेको छ त्यसलाई अरुले पनि अनुसरण गर्न सक्छन ।

तपाई केही समय अघि महानगरपालिकाको तर्फबाट औपचारिक रुपमा विदेश भ्रमणमा पनि जानुभयो, भ्रमण कस्तो रहयो ?
म उपमेयर भएपछि औपचारिक रुपमा पहिलो विदेश भ्रमण मे को ९ देखि १२ सम्म चाइनाको हुडान प्रदेशको छाउन भन्ने शहरमा सेमिनार थियो । त्यहाँ संसारभरका बिभिन्न शहरका पर्यटकीय क्षेत्रमा काम गरिरहेको फेडरेशन छ, त्यो फेडरेशनको काठमाडौं महानगरपालिका सदस्य पनि हो ।

त्यहाँ गईसकेपछि विभिन्न शहरले आफनो देशमा पर्यटनका लागि कसरी काम गरिरहेको छ भन्ने बिषयमा छलफल भयो । अन्य शहरका मेयरहरुले पनि आफनो आफनो देशको पर्यटकीय क्षेत्रको विकासका लागि कुरा राख्नुभयो । त्यहाँ मेयर्स डार्इलग थियो त्यसमा डिस्कसन भयो । उपप्रमुख वा प्रमुखले आफनो शहरको वारेमा भन्नुपर्ने थियो ।

पहिला पर्यटक भन्ने बित्तिकै घुम्न आउने मात्रै सोच्दथ्यौ अहिले पर्यटक भन्ने बित्तिकै व्यवसायसँग पनि जोडिएको छ । अनलाईन व्यवसायसँग जोडिएको छ । यी सवै बिषयवस्तुमा छलफल भएको थियो । त्यसमा काठमाडौं महानगरपालिकाको प्रतिनिधित्व गरेर मैले नेपाल किन भ्रमण गर्नपर्छ भन्ने बिषयलाई प्रमुख आधार बनाए । मैले विभिन्न कुराले विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने कोशिस गरे ।

जसमा काठमाडौं मन्दिरै मन्दिर भएको सांस्कृतिक शहर भएकाले यहाँको भौगोलिक अवस्था धार्मिक अवस्थाले पनि घुम्ने ठाउँ नेपाल नै हो भनेर बुझाए । कोही व्यक्ति धार्मिक हुनुहुन्छ भनेपनि नेपाल घुम्नको लागि उत्तम स्थान हो भने, कोही कला संस्कृति हेर्न मन पराउनुहुन्छ भनेपनि नेपाल नै हो । कोही भाषामा नयाँ कुरा सिक्न हेर्न सुन्न पढन चाहनुहुन्छ भनेपनि नेपाल नै हो, नेपालमा कति धेरै भाषा छ आउनुस नेपाल घुम्न भनेर भने । कोही प्राकृतिक कलाकृति, सांस्कृतिक सम्पदा, भाषा धर्म संस्कार संस्कृति हेर्न चाहनुहुन्छ भनेपनि नेपाल आउनुस भने । घुमाईसँगै कतिलाई हाइकिङ्ग गर्न मन लाग्छ नेपाल आउनुस, हिमाल चढ्न मन लाग्छ नेपाल आउनुस, कुनै हरियाली जमिन हेर्न मन भए नेपाल आउनुस, डाँडाकाँडा हेर्न मन भए नेपाल आउनुस नेपाल हेर्न एउटा मात्र कारण छैन यहाँ घुम्न आउँदा धेरै कारणहरु छन् । तपाई जस्तो व्यक्ति भएपनि नेपाल घुम्नका लागि राम्रो महत्वपुर्ण क्षेत्र हो भनेर मैले नेपालको प्रचार पनि गर्न भ्याए ।

कतिपयलाई नेपालका बारेमा जानकारी नै नभएको पनि रहेछ । यात्रामा रहदा धेरैले नेपाल घुम्नका लागि कत्तिको सुरक्षित छ भनेर जिज्ञासा राख्नुहुने रहेछ । त्यो प्रश्न मलाई धेरै नै आयो, त्यो किन रहेछ भने जो व्यक्ति घुम्न निस्कदा आफना लागि कत्तिको सुरक्षित छ भन्ने बुझने रहेछ त्यही भएर उहाँहरुले प्रश्न गर्नुभएको जस्तो पनि लाग्यो, घुम्नका लागि नेपाल सही र सुरक्षित गन्तव्य हो भनेर अन्तराष्ट्रिय समुदायमाझ भन्न पाए त्यसमा आफूलाई खुसी महशुस भएको छ । साथै नेपालको पर्यटकीय क्षेत्रको प्रचार गर्ने कार्यमा केही हदसम्म सफल भए भन्नेपनि लाग्यो ।

अन्त्यमा तपाई उपमेयरमा निर्वाचित भएपछिको एकबर्षे आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?
समग्रमा एक बर्षे कार्यकाल सोचे अनुरुप नै भएको छ, सन्तुष्ट छु ।