९ मंसिर २०८१, आइतबार 1732479746
खेलकुद

नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौं । हङकङमा भइरहेको एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटबाट नेपाल समूह चरणबाट बाहिरिएको छ ।

समूह चरणमा हुनुपर्ने तीनमध्ये दुई खेल वर्षाका कारण अवरुद्ध भएको र एक खेलमा पराजित भएका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

शनिबार तय भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । जसका कारण नेपालको अघिल्लो चरणमा जाने सम्भावना रहेन ।

यो प्रतियोगितामा सिधै छनोट हुन नसकेको नेपालले थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि अन्तिम समयमा अवसर पाएको थियो ।

एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता टेष्ट मान्यताप्राप्त देशको ए टिम सहभागी हुने यस प्रतियोगिता नेपालका लागि आफ्नो स्तर थाहा पाउने र एक्सपोजर लिने अवसर थियो ।

तर समूह ए मा पाकिस्तान ए सँग पहिलो खेलमा ९ रनको पराजय ब्यहोरेको नेपालले भारत ए सँग निर्धारित दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएपछि खेल्न पाएन । पहिलो खेलमा नेपालले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै पाकिस्तान ए टोलीलाई ८७ रनमा अलआउट गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको थियो ।

तीन खेलबाट नेपाल र हङकङले समान २ अंक जोडे र समूह चरणबाट बाहिरिए । शनिबार तय भएको भारत ए र पाकिस्तान ए को खेल पनि रद्द भयो । समूह ए बाट भारत ए र पाकिस्तान ए ले सेमिफाइनलमा स्थान बनाए । यस्तै समूह बी बाट श्रीलंका ए र बंगलादेश ए ले सेमिफाइनलमा स्थान बनाउँदा युएई र मलेसिया समूह चरणबाटै बाहिरिए । सेमिफाइनलका खेलहरु जुन १९ र फाइनल जुन २१ मा हुनेछ ।

वर्षाका कारण प्रतियोगिताका धेरै खेल प्रभावित बने । जसले गर्दा एसोसिएट टिमले टेष्ट टिमसँग धेरै खेल खेल्ने अवसर पाएनन् ।