७ मंसिर २०८१, शुक्रबार 1732314661
Banner

सूर्यविनायकमा तीनदिने घरेलु, कृषि तथा पर्यटन मेला सुरु, के–के छन् प्रदर्शनमा ?

काठमाडौं । २० औँ धान दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिकामा तीनदिने घरेलु तथा पर्यटन मेला सुरु भएको छ ।

सूर्यविनायक नगरपालिकाको आयोजनामा तथा भक्तपुर घरेलु तथा साना उद्योगसंघको संयोजन, भक्पुर पर्यटन विकास समितिको प्रवद्र्धनमा कृषिसँग पर्यटन र बेरोजगारलाई उद्यमसँग जोड्ने उद्देश्यका साथ आज (शुक्रबार)बाट भक्तपुर सूर्यविनायक नगरपालिका ८ आदर्शस्थित हरित कृषि थोक बजारमा तीनदिने मेला सुरु भएको हो ।

मेला तीनदिने भए पनि आवश्यकताअनुसार समयावधि थप हुन सक्ने बताइएको छ । ९० वटा स्टल रहेको सो मेलामा १० हजारले अवलोकन गर्ने आँकलन गरिएको छ । मेला समारोह उद्घाटनलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले नगरपालिकालाई आत्मनिर्भर बनाउन मेलाले सहयोग पुर्याउने बताए ।

नगरपालिका च्याउ,कुरिलो, आलु र अन्य तरकारीमा आत्मनिर्भर बनेको बताउँदै उनले अन्य उपभोग्य वस्तुमा पनि आत्मनिर्भरताका लागि अघि बढ्ने बताए । ‘कृषिलाई विशेष प्राथमिकता दिएर अघि बढाउन हामी लागि परेका छौँ । कृषियोग्य जमिन नछुट्याए पनि खालि जमिनलाई व्यवस्थित गछौँ,’ उनले भने ।

चाईना भ्रमणको स्मरण गर्दै उनले भने, ‘चाइनाले पहिलो प्राथमिकतामा कृषिलाई राखेको छ तर नेपालमा पाइलट, अधिकृत डक्टरमात्रै बन्नुपर्छ भन्ने मान्यता छ, यस्तो सोचमा परिर्वतन आउन जरुरी छ ।’ सबैलाई जागिरले नपुग्ने बताउँदै उनले जागिर नपाए कृषि तथा व्यवसाय गर्नुपर्ने बताए ।

यस्तै, उपप्रमुख तथा मेलाकी मूल संयोजक सरिता भट्टराईले किसानलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन् ।
किसानविना हामी जोकोही पनि बाँच्न नसक्ने उनले बताइन् । मेलाले सबै व्यवसायीलाई एउटै छानामुनि राखी प्रवद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ छ । मेलाले नगरपालिकालाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भनेर सहयोग गर्ने बताउँदै उद्यमीलाई प्रवद्र्धन गर्ने बताइन् । मेलाले नगरपालिकालाई व्यवसायीलाई प्रवद्र्धन, उत्पादनलाई बजार व्यवस्थापन र उत्पादित वस्तुलाइ प्रशोधन गर्न रोडम्याप तय गर्न र व्यवसाय थालेर असफल भएकाको सहयोगी बन्न सहयोगी बन्न रोडम्याप निर्धारण गर्ने उनले बताइन् । नगरपालिकालाई राम्रो बनाउनका लागि सबै पक्ष लाग्नुपर्ने उनको भनाइ छ ।

गत वर्षदेखि नै सूर्यविनायक नगरपालिकामा आन्तरिक स्रोतको वृद्धि हुँदै गएको बताउँदै नगरपालिकाको विकासका लागि सबै पक्ष लागि पर्नुपर्ने उनको भनाइ छ ।उद्योगी व्यवसायीलाई सीधै उपभोक्ता तथा बजार र आधुनिक प्रविधिसँग जोड्नका लागि मेलाले सहयोग पुर्याउने बताइन् ।

यस्तै, भक्तपुर घरेलु तथा साना महिला उद्योग संघकी अध्यक्ष देवका श्रेष्ठ कृषकलाई व्यवसाय गर भनेर मात्रै नहुने बताउँदै सँगसँगै प्रोत्साहित गर्नुपर्ने बताउँछिन् ।

किसानमा काम गर्न उत्साह रहेको र काम पनि गर्ने तर, समस्या आउनेवित्तिकै छाड्ने प्रवृति रहेको उनको अनुभव छ ।
विगत केही वर्षदेखि पाउँ व्यवसायमा रहेको बताइन् । साथै, उनले आफ्नो व्यवसाय हस्तान्तरणका लागि पारिवारिक उत्तराधिकारीसमेत तयार भइसकेको उनले बताइन् । उनले भनिन्, ‘लामो समयदेखि म पाउ व्यवसायमा छु । म मेरो व्यवसायलाई पारिवारिक व्यवसाय बनाउन चाहन्थे,’ उनले भनिन्, ‘त्यहीँ अनुरुप मैले छोरा–छोरीलाई फुड टेक्नोलोजी पढाएकी छु । अब उनीहरुले यही व्यवसाय अँगाल्छन् ।’

के–के छन् मेलामा ?

मेलामा प्याकिङ र बोटलमा रहेका मलदेखि खाद्यको रुपमा प्रयोग गरिने स्थानीय चामल, च्याख्ला पिठो, च्याउ, कुरिलो, स्थानीय आलुको चप, लप्सीको पाउँ, धूपका लागि प्रयोग गरिने बत्ती, खाने तेल, घरबुना कपडा (नेवारी पोसाक) मौसमी फलपूmल (आरु, काक्रो) गड्यौलाको मल, विवाहका लागि चाहिने सरसजाम, नकुहिँने प्लाष्टिक स्थानीय उत्पादन छन् ।
यस्तै, नेवारी खाजका परिकार, जुजु द्यौ, यमोरी, भेज र ननभेज छोइला पनि रहेका छन् ।

के भन्छन् स्टल राख्नेहरु ?

मेलामा बाबुराम चौलागाईंले कम्पोस्ट मल राखेका छन् । मेलामा नेप्सोम्याक जैविक मल राखेका उनले नेपालमा जैविक मल उपयुक्त रुपमा प्रयोग हुन नसकेको बताए ।

आफूले विगत केही वर्षयता यही व्यवसाय गर्दै आएको बताउँदै सन्तोषजनक व्यवसायी बन्न नसकेको उनको भनाइ छ । उनले भने,‘केही वर्षयता यही व्यवसायमा छु । तर, सन्तोषजनक व्यवसायी बन्न सकेको छैन ।’ नगरपालिकाले नै जैविक प्रयोगलाई प्रोत्सान गर्ने नीति लिएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

यस्तै, मेलामा प्लाष्टिकजस्तै देखिने कुँहिने झोला पनि राखिएको छ । बायो ब्याग्स नेपालले केही वर्षयता कुँहिने झोला उत्पादन गर्दै आएको छ ।

नेपालकै पहिलो वातावरणमैत्री झोला उत्पादक कम्पनी भनी दाबी गरिएको सो कम्पनीले केही वर्षयता प्लाष्टिकजस्तै देखिने तर कुँहिने झोलाको उत्पादन गर्दै आएको छ । तर, उचित बजार लिन नसकेको स्टलका कर्मचारी बताउँछन् ।

यस्तै, मेलामा भक्तपुरमै उत्पादित शृङ्गारका सामग्री राखिएको छ । विगत लामो समययता यही पेसामा रहेकी सोमलता विमला जनशक्तिको अभावमा आवश्यक उत्पादन गर्न नसकेको बताउँछिन् ।

व्यवसाय प्रवद्र्धनका लागि बेलाबेलामा ट्रेनिङ सञ्चालन गरे पनि ट्रेनरहरु स्थायी हुन नसक्दा जनशक्ति अभाव भएको उनको भनाइ छ । स्थानीय सरकार श्रमलाई कसरी सम्मान गर्न सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताइन् ।

यस्तै, दयाराम मोचामोसीले मेलामा कुरिलोको स्टल राखेका छन् । नेपाल सरकारले किसानलाई प्राथमिकता नम्बर एकमा नराखेसम्म नेपालका किसान प्रतिस्पर्धी बन्न नसक्ने बताए ।

त्यसका लागि सरकारले बाह्य आयतमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । तर, नेपालमा वास्तविक किसान मारेर झोलावाला किसान बाचुन्जेल नाराले मात्रै केही नहुने उनको बुझाइ छ ।

त्यसका लागि सरकारले तीनै तहका सरकारले वास्तविक कृषकलाई प्राथकितामा राखी त्यहीअनुरुप व्यवहार गर्न सुझाव छ ।

Tags :