९ मंसिर २०८१, आइतबार 1732472334
खेलकुद

नेपाल खेलकुद महासंघले वर्तमान सांसद र पुर्वसांसदबीच ब्याडमिन्टन प्रतिस्पर्धा गराउने

काठमाडौं । नेपाल खेलकुद महासंघले जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीका अवसरमा ‘मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता’को आयोजना गर्ने भएको छ । नेपाल खेलकुद महासंघले सोमबार केन्द्रिय कार्यालय मध्यबानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

उक्त प्रतियोगितामा संविधान सभाका सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका सदस्य र प्रदेश सभा सदस्यहरुका बिच प्रतिस्पर्धा हुने नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा सवै राजनीतिक दलका पुर्व माननीय र वर्तमान माननीय गरि करिब ६० जनाको सहभागिता रहने बस्नेतको भनाई थियो । यहि असार १९ र २० गते ललितपुरको रिभाईभ लिजर पार्कमा हुने ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने महासंघले बताएको छ ।

खेल क्षेत्रको समग्र विकासका साथै खेलकुदका मुद्धालाई राजनीतिक मुद्धाका रुपमा अगाडि बढाउने उदेश्यले राजनीतिक दलका नेताहरुका बीचमा उक्त प्रतिस्पर्धा गर्न लागिएको महासंघका अध्यक्ष बस्नेतले बताउनुभयो । उक्त प्रतियोगितामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई प्रमाण पत्र, मेडल र ट्रफिबाट सम्मान गरिने आयोजकले बताएको छ ।