१० कार्तिक २०८१, शनिबार 1729988174
Banner

कोशी प्रदेशको मुख्यमन्त्री थापाको नियुक्तीविरुद्ध कार्की अदालत जाने

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्तीविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की अदालत जाने भएका छन् । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानविपरीत भएको भन्दै कार्की मुख्यमन्त्री नियुक्तीको विरुद्ध अदालत जाने तयारी गरेको हो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिकरूपमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको जिकिरसहित आजै सर्वोच्च अदालतमा रिट दर्ताको तयारीमा रहेको कार्कीले बताए ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ भनिएको छ।

थापालाई चार दलको समर्थन भए पनि बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गरेर चार दल र सभामुखको समर्थन देखाउँदै प्रदेश प्रमुखसमक्ष दाबी पेश भएको थियो।

संविधानमा सभामुखले मत विभाजनमा बराबर भएको बेला निर्णायक मत दिनेबाहेक कुनै अधिकार नरहेको र सभामुखले दलीय आबद्धतासमेत त्यागेका कारण उनको समर्थनमा बनेको सरकार असंवैधानिक रहने कानुविदहरू बताउँछन् ।