११ कार्तिक २०८१, आइतबार 1730038719
समाचार

इक्यान अध्यक्षमा भट्टराईको उम्मेदवारी घोषणा

काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । आगामी असार ३० गते हुने अधिवेशनबाट चुनिने नेतृत्वका लागि भट्टराईले उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि संघको महासचिव र उपाध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । इक्यानलाई कुशल नेतृत्वसँगै नीतिगत हिसाबमा शक्तिशाली बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । ‘केही विद्यमान समस्याको समाधान गर्नुछ’, उनले भने, ‘केही दूरगामी महत्व राख्ने प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्नुछ । समग्रमा देशको शैक्षिक जनशक्तिलाई अन्तर्राष्ट्रियस्तरको बनाउनमा मेरो भूमिका हुनेछ । त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’

वौद्धिक व्यक्तित्वको छवि बनाएका भट्टराई इक्यानभित्र सर्वप्रिय छन् । उनलाई सिंगो व्यवसायिक टिमको साथ, सहयोग र समर्थन छ । महासचिव र उपाध्यक्षको भूमिकामा रहँदा संघ र संघका सदस्यको हितमा गरेका सत्प्रयास नै शेषराजले भावी नेतृत्व पाउने दरिलो आधार हो ।

संघमा अवद्ध सम्पूर्ण व्यवसायिक शैक्षिक परामर्शदाताको समर्थन भएकाले अधिवेशनले आफूलाई नेतृत्व सुम्पनेमा भट्टराई ढुक्क छन् ।

सकेसम्म सर्वसम्मत ढंगमा नै आफूले नेतृत्व पाउनेमा भट्टराई आशावादी छन् । सर्वसम्मत हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने उनले बताए । ‘निर्वाचनै हुने स्थिति आउँदा पनि साथीहरुले मलाई नेतृत्वको जिम्मा दिनुहुन्छ भन्नेमा ढुक्क छु’, उनले भने । दर्बिलो नेतृत्व क्षमता उनी अर्विट इन्टरनेशनलका सञ्चालक हुन् ।