८ मंसिर २०८१, शनिबार 1732351558
Banner

रास्वपाको केन्द्रीय सदस्य बन्दै यी सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तेस्रोपटक केन्द्रीय समिति विस्तारको तयारी गरेको छ। रास्वपाले केही सांसदहरूलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको हो।

केन्द्रीय समिति सदस्यको जिम्मेवारीमा नरहेका १४ जनालाई नै थप्न प्रस्ताव आए पनि केहीलाई मात्रै लैजाने तयारी रहेको छ ।

संसदमा र पार्टीको संगठन निर्माण र परिचालनमा पुर्‍याएको योगदान हेरेर केन्द्रीय समितिमा लैजाने विषयमा तयारी भइरहेको रास्वपाले जनएको छ । सबै सांसदलाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी भने नदिइने पार्टीको तयारी छ ।

२१ जना संघीय सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समितिमा छन्। इन्दिरा रानामगर उपसभामुख छिन् भने १४ जना सांसद केन्द्रीय समितिभन्दा बाहिर रहेका छन्।

त्यसमध्ये तनहुँ–१ बाट उपचुनाव जितेका डा.स्वर्णिम वाग्ले, चितवन–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हरि ढकाल, काठमाडौं ८ बाट निर्वाचित तथा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाललाई केन्द्रीय समितिमा समेट्ने तयारी रहेको रास्वपाले जनाएको छ । त्यस्तै प्रमुख सचेतक सन्तोष परियार र मनिष झा पनि थपिने केन्द्रीय सदस्यको सूचीमा छन्।

पछिल्लोपटक गत फागनु १ गते रास्वपाले केन्द्रीय समितिमा १६ जना थपेको थियो। त्यतिबेला सांसदहरूसहित १०० जना प्रस्ताव गरिएको नेताहरू बताउँछन् ।

केन्द्रीय समितिमा झण्डै दुई तिहाइ सदस्य रिक्त रास्वपाको विधानको धारा २३ को उपधारा २ मा केन्द्रीय समिति १ सय २१ सदस्यीय रहने व्यवस्था छ। रास्वपाको केन्द्रीय समिति अहिले ३९ सदस्यीय छ।विधानअनुसार ८२ जना सदस्य थप्न सकिने अवस्था छ।