८ मंसिर २०८१, शनिबार 1732412702
Banner

कांग्रेस बैठकमा माओवादीको विरोध

काठमाडौं । मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चर्को आलोचना भएको छ । कांग्रेसका केन्द्रीय सदस्यहरूले माओवादी केन्द्रका नेता कार्यकर्ताका कारण आफूले कुनै काम गर्न नसकेको भन्दै माओवादीको आलोचना गरेका हुन ।

कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले चितवनमा सिडिओदेखि क्यान्सर अस्पतालसम्म सबै कार्यालय माओवादी केन्द्रको कब्जामा रहेको ब्रिफिङ गरे । उनले चितवनमा भएका सबै कार्यालय प्रमुखहरु माओवादी समर्थक भएको सुनाए ।

मेयर, सिडिओ, एसपी, भूमि आयोगको अध्यक्ष क्यान्सर अस्पतालको अध्यक्ष, सरकारी अस्पतालको अध्यक्षलगायत सबै माओवादी भएको भन्दै उनले केन्द्रीय समितिमा दुखेको पोखे ।

उनले भने, ‘चितवनमा सबै अरुलाई बुझाइसकेपछि हामीले केही गर्न सक्ने अवस्था छैन । अब कांग्रेसले गर्ने के ? हाम्रो कुरा सुनुवाइ हुँदैन ।’ कुनै कार्यालयमा वाइसिएलका साधारण सदस्यले भनेको मान्ने तर आफूहरूले भनेको नमान्ने अवस्था रहेको उनले बताए । जिल्लामा कांग्रेस नेताहरू कुनै काम नभएको भनाई छ ।

अर्का केन्द्रीय सदस्य कर्णबहादुर बुढाले गुरुङको कुरालाई सहि थप्दै भने ‘हाम्रो चितवनको मित्रले भन्नुभएको जस्तो सबै ठाउँमा माओवादी छ ।’

अहिलेको अवस्थामा महामन्त्रीले गरेको सबै केन्द्रीय सदस्य गाउँ जाने प्रस्तावलाई कार्यन्वयन गर्न नसकिने उनको भनाई छ । उनले भने, ‘के लिएर जाने हामी ? यही भाषण, यही खोक्रो नारा लिएर जाने हामी ? कसले मान्छ अहिलेको जमानामा ?’

केन्द्र र प्रेदशमा कांग्रेसको सरकार भएपनि कार्यकर्ताले सरकारको अनुभूत गर्न नपाएको उनको गुनासो छ । उनले कांग्रेसलाई अघि बढाउन मिसन २०८४ आवश्यक नभएको पनि बताए । उनले कार्यकर्ताले समेत आफूहरूलाई मान्न छोडेको गुनासो गरे ।

उनले भने, ‘२०८४ मा तपाईंहरुमात्रै चुनाव लड्नु भनेको छ । हामी पछाडि हिँड्ने कार्यकर्ताको भविष्य छैन । के नाताले हाम्रो पछाडि हिँड्छन् कार्यकर्ताहरू ? कांग्रेसलाई सधैंभरी ज्यूँदो राख्ने हिसाबमा लागौं ।’ उनले पार्टी सरकारमा गएर नेता कार्यकर्ताले के पाए त्यसको पनि हिसाव किताव गर्नुपर्ने बताए ।

केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठक भोलिसम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।