११ कार्तिक २०८१, आइतबार 1730045147
Banner

कोशी सरकारविरुद्धको मुद्दामा आज फैसला आउने

काठमाडौँ– कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर गरिएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । 

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मङ्गलबारदेखि भइरहेको सुनुवाइ हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । 

संयुक्त इजलासमा हिजो अन्तिम बहस सकिए पनि फैसला लेखनका लागि अध्ययन गर्न समय अभाव भएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएकाले सम्भवतः आज फैसला आउने छ ।

कोशी सरकारको गठनमा प्रदेशसभाका सभामुखले हस्ताक्षर गर्नु संवैधानिक हो वा असंवैधानिक भन्ने विषयमा सर्वोच्चले निर्णय दिनेछ । 

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत संलग्न गरि उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले उक्त प्रक्रिया असंवैधानिक रहेको भन्दै असार २२ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।