८ मंसिर २०८१, शनिबार 1732379172
Banner

प्रधानमन्त्री र गौरहत्याकाण्डका पीडितबीच भेटवार्ता, समिति बनाएर न्याय दिलाउने आवश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत गौर हत्याकाण्डका पीडितलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डका पीडितले न्याय गर्दै आन्दोलनमा उत्रिएका उनीहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको हो ।

पीडितले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री दाहालले पीडितको आन्दोलनमा सरकारको ध्यानाकर्षण भएको भन्दै पीडित परिवारलाई काठमाडौं बोलाएर त्यसबारे छलफल गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री दाहालले गृहसचिवको नेतृत्वमा यथासक्य छिटो वार्ता टोली बनाउने र ठोस सहमति गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री दाहालले माग सम्बोधन गर्ने विषयमा आफू सकारात्मक रहेको र गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाएर अघि बढ्ने आश्वासन दिएको संघर्ष समितिले जनाएको छ ।

घटनाको छानबिन हुनुपर्ने माग गर्दै पीडितहरु यसअघि एक सातादेखि चन्द्रनिगाहपुरमा धर्ना बसेका थिए । २०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए ।

यसअघि पीडितहरुले चन्द्रनिगाहपुरमा धर्ना थालेपछि प्रधानमन्त्री कार्यालयले बिहीबारै संघर्ष समितिलाई पत्राचार गरेर वार्ता र संवादमा आउन आह्वान गरेको थियो ।

Tags :