काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् ।
एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल र भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सिमा भनेर अर्घेल्याई गरेको उनको भनाइ छ ।
कालापानीमा भारतले ६१ वर्षअघि सेना ल्याएर राखेको भन्दै ओलीले विना सम्झौता, विना जानकारी एकतर्फी रूपमा सेना राखेको बताए ।
‘कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याई हो । त्यस्तो पनि गर्न हो रु छिमेकीले त्यस्तो त गर्नुभएन । हामीले हाम्रो दावी छाड्नु हुँदैन’ उनले भने, ‘अहिले लिम्पियाधुरा लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको छ । तर दाबी छोड्न हुँदैन। उहाँहरूले (भारतले) उपभोग गरिरहेको किन हो त ?’
नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन आफैंले बुझ्ने तयारी गरेको तर सरकार छाड्नुपरेको ओलीले टिप्पणी गरे । ‘ईपीजी प्रतिवेदन म प्रम हुँदा बुझ्ने भनिएको थियो, नबुझ्ने भन्ने थिएन । तर मिती मात्रै तोकिएको थिएन । पछि मैले सरकार छाड्नुपर्यो’ उनले भने ।