काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बोल्नेहरुलाई छानी छानी पक्राउ गर्न लागेको आरोप लगाउनृुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माले सरकार बिरुद्ध बोलेकै कारण पक्राउ गरिएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, के शुनिल शर्माले दुई दिनमै नक्कली सर्टिफिकेट बनाएका हुन् ? ।
‘सुनिल शर्माले अहिले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेपछि दुई दिनमा फेक सर्टिफिकेट बनाएको हो ? दुई दिन बोल्नेवित्तिकै हतकडी ? ओलीले प्रश्न गर्नुभयो, ‘सुनिल शर्मा भन्ने मान्छे भागिहाल्छ र ?’ उहाँले सरकारले एक हातमा हत्कडी र एक हातमा पत्र थमाउँदै आवाज थुन्न खोजेको बताउनुभयो ।
सरकार सुन प्रकरणको विरोध गर्ने सबैको मुख बन्द गर्ने अभियानमा लागेको उहाँले बताउनुभयो । सुन पास गर्नेहरूले नै छानबिन गरेर हुँदैन भनेर आफूहरूले उच्चस्तरीय छानबिनको माग गरिरहेको उहाँले बताउनुभयो ।
‘सुनिल शर्माको जाली सर्टिफिकेट भएको भए पहिला किन लुकाएको ? किन चुनावमा उम्मेदवार बनाएको ?’ओलीले भन्नुभयो , होइन भने दुई दिन सरकारको विरोध गर्नेवित्तिकै किन समात्या ? यस्तो कपटपूर्ण खेल किन ।’
उहाँले अहिले सबै पोल खुल्ने डरले संसदमा सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि सबै उठेर अवरोध गर्न थालेको बताउनुभयो ।