७ मंसिर २०८१, शुक्रबार 1732296510
पालिका

सूर्यविनायक नगर अस्पतालमा विरामीको चाप, नमुना अस्पतालको रुपमा स्थापित हुँदै

काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थापित सूर्यविनायक नगर अस्पताल एक नमुना अस्पतालको रुपमा चिनिन थालेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले कोरोना महामारीको समयमा देशभर थप ३९६ वटा अस्पताल बनाउने घोषणा गरेको सो अस्पताल सेवाप्रवाह र सेवाग्राहीको रोजाइमा सफल अस्पतालका रुपमा चिनिन थालेको हो । पछिल्लो समय अस्पतालमा सेवाग्राहीको भीड बढेको छ ।

भौतिक रुपमा नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा फैलिएको सो अस्पताल जान बाटोको सुविधा, सफा, हरियाली ,फराकिलो खुला क्षेत्र साथै पार्किडको व्यवस्था छ । जसका कारण सेवाग्राहीको रोजाइमा पर्न सफल भएको हो ।

नेकपा एमालेका नेता महेश बस्नेतले तत्कालीन कोरोना महामारी नियन्त्रणको लागि लक्षित गरी बनाइएको नगर अस्पतालले सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरिरहेको बताए ।

अरनिको राजमार्ग छेउमा पर्ने यो अस्पतालबाट नगरवासी मात्रै नभएर नगरबाहिरका मान्छे समेत लाभान्वित हुने विश्वास व्यक्त गरे । सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको र नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउदै आएको सूर्यविनायक ८ का वडाध्यक्ष रवीन्द्र सापकोटाले बताए ।

अस्पतालमा विभिन्न स्थानबाट सेवा लिन आएका सेवाग्राही र आफन्त अस्पतालले दिने सेवा चुस्त दुरुस्त र सहज भएको बताउँछन् । अस्पतालमा उपचार गर्न आएकी सत्यलक्ष्मी शिल्पकारले अस्पतालले निक्कै सजिलोसँग उपचार सेवा पाइने बताइन ।

सूर्यविनायक–८, सिपाडोलकी सिता बस्नेतले घरपायक नगरअस्पतालको सेवाले निक्कै सजिलो र ढुक्क भएको बताइन् । ‘अन्य अस्पतालमा लाइन बस्दैमा हैरान भईन्छ, साँघुरो पार्किङ, अँध्यारो कोठाहरूका कारण उपचार गर्न जाने मात्र होइन, कुरूवा समेत दिक्क भएर विरामी हुने अवस्था आउँछ,’ उनले भनिन् ।