११ कार्तिक २०८१, आइतबार 1730059497
समाचार

जलवायु परिवर्तनमा नेपालले प्रभावकारी काम गर्न सकेनः वनमन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनमा नेपालले प्रभावकारी तवरबाट काम गर्र्न नसकेको बताएका छन् । आज शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा वनमन्त्री महतोले कानन, योजना नभएका कारण जलवायु परिवर्तनमा नेपालले राम्रोसँग काम गर्न नसकेको बताएका हुन् ।

उनले अन्तर मन्त्रालय समन्वय नहुँदा पनि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न अफ्ठ्यारो भइरहेको बताए । मन्त्री महतोले कार्बनमा काम गर्ने कुनै संयन्त्र नै नभएको बताए ।

उनले जलवायु, वातावरण लगायतसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा बुझ्दै नबुझीकनन हस्ताक्षर गर्दा समस्या सिर्जना भएको बताए । उनले जंगली जनावरको संख्या बढाएपनि यसको संरक्षणमा चुनौति खडा भएको बताए । मन्त्री महतोले बाघको संख्या उल्लेख्य बढाएपनि संरक्षण गर्न ठूलो चुनौति देखिएको बताए ।

महतोले भने, ‘जलवायु परीवर्तनमा नेपालले त्यती राम्रोसँग काम गरेको अवस्था छैन । न हामीसँग नियम कानून छ, न हामीसँग योजना छ । न हामीसँग रोडम्याप छ । यस बारेमा हामी प्रवेश गर्न सकिरहेका छैनौँ । नियम कानून बनाउन अफ्ठ्यारो र विभिन्न मन्त्रालयसँग जोडिएकाले अन्तरमन्त्रालय समन्वय हुन सकिरहेको छैन । अर्थ मन्त्रालयले विदेशी सहायता नमिल्ने तरीकाले लिईरहेको छ । टुक्रे टुक्रे बजेट ल्याउने र, उसले दिएको कन्डीसन अनुसार काम गर्नुपर्ने । हामीले कार्वनमा काम गरेको एक÷दुई वर्ष भयो । तर, कार्बनमा काम गर्ने न हामीसँग कुनै मेकानिजम छ । न हामीसँग मेनपावर छ । न हामीसँग कुनै टेक्निक छ । न हामीसँग कुनै प्रयोगशाला छ । हामी जस्तो देशले कार्वनमा प्रोफीट लिन सक्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरुले जे भन्छन् जान्ने भएर हस्ताक्षर गरेर आउँछौं । हामी आफ्नो देशको बारेमा सोच्दैनौ । त्यो हस्ताक्षर गरेर आइसकेपछि ४५ प्रतिशत बन पुर्‍याउनुपर्ने, ५० प्रतिशत वन पुर्‍याउनुपर्ने, ६० प्रतिशत पुर्‍याउनुपर्ने भनिएको हुन्छ । त्यसवापत् हामीले के पाउने त ? पाउने कुरामा हामीले छोडिरहेका हुन्छौँ । मुख्य समस्या भनेकै प्रतिवद्धतामाथी प्रतिवद्धता गरेर हो । जंगलमा भएको जनावर र मानिसचिवको जुन द्वन्द्व छ, अहिले प्रश्न के उठ्न थालेको छ भने मान्छे ठूलो की जनावर ठूलो । हामीले कसलाई प्राथमिकता दिने । जनावरले मान्छे मार्‍यो भने ठिक छ तर, मान्छेले जनावर मारेपछि जिन्दगीभरी जेलमा बस्नुपर्छ । बन ऐनले त जनावर ठूलो भनेको छ । बाघको संख्या त बढायौं तर, त्यसको संरक्षण गर्न ठूलो चुनौति छ । हरेक एक दुई महिनामा घटनाहरु आइरहेका छन्, हात्तीकै घटनाहरु आइरहेको छ, बाँदरको घटना आइरहेको छ । तर, नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको ग¥यै छ । न सर्पलाई मार्न पाउने न बाँदरलाई मार्न पाउने भनेर प्रतिवद्धता गरेर आएका छौं । हामीले के गर्ने के नगर्ने हाम्रो स्वायत्तताको कुरा हो । ’