३ आश्विन २०८१, बिहिबार 1726783237
पालिका

शुक्लाफाँटा नगरपालिका साक्षर नगर घोषित  

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । नगरका निरक्षर अवस्थामा रहेका दुई हजार २८८ जनामध्ये दुई हजार १७८ (९५ दशमलव ५४ प्रतिशत) व्यक्तिलाई साक्षर बनाइएपछि नगरपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको हो ।

नगरपालिकामा अब ४ दशमलव ४६ प्रतिशत व्यक्तिहरु मात्रै निरक्षर रहेका छन् । निरक्षर अवस्थामा रहेका व्यक्तिहरुको पहिचान गरी नगरपालिकाले कार्यक्रम सञ्चालन गरी पूर्ण रुपमा साक्षर बनाउने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । उहाँका अनुसार साक्षर नेपाल कार्यक्रमअन्तर्गत नगरपालिकाका १२ वटै वडामा ९० वटा साक्षरता कक्षा सञ्चालन गरी निरक्षरलाई साक्षर बनाउने कार्य गरिएको थियो ।

वडा नं १ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा दुई, वडा नं ७ मा १६, वडा नं ८ मा १०, वडा नं ९ मा आठ, वडा नं १० मा ६, वडा नं ११ मा नौ र वडा नं १२ मा २९ वटा साक्षरता कक्षा सञ्चालन भएका हुन् । साक्षरता कक्षा सञ्चालनका लागि सहजकर्ताको तलब, शैक्षिक सामग्री खरिद, मसलन्द खरिद, कार्यालय व्यवस्थापन खर्च गरी रु २० लाख बजेट परिचालन गरिएको थियो।