१० कार्तिक २०८१, शनिबार 1729930982
Banner

कैद मिनाहको जसअपजबारे सरकार जिम्मेवार छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहको जस अपजसको भागीदार सरकार हुने बताएका छन् ।

राष्ट्रपतिबाट भएका कैद मिनाहप्रति असन्तष्ट हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।

कैद मिनाहबारे राष्ट्रपतिलाई ध्यानाकर्ष गराउन सोमबार रवि लामिछानेसहितको टोली शितल निवास पुगेको थियो ।
सो क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् ।

संविधान दिवसका अवसरमा कैद मिनाहा गरिएको विषयमा ध्यानाकर्षण गराउन गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यताअनुसार मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरे ।

उनले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

‘हाम्रो संविधान, हाम्रो गणतन्त्र र हाम्रो संसदीय व्यवस्था तपाईँहरूले बुझ्नुभएको छैन भन्ने मलाई लाग्दैन,’ राष्ट्रपति पौडेलले भने, ‘तपाईँहरू संसदमा हुनुहुन्छ, सरकार पनि संसदमा नै छ, त्यहीँ तपाईँहरूले प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जवाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो ? अलिकति यो संविधान र व्यवस्था अनुसार प्रक्रिया मिलेन कि जस्तो लाग्यो ।’