१० कार्तिक २०८१, शनिबार 1729930520
Banner

बर्तौलाद्वारा जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण न्यायाधीशमा नियुक्तबारे जवाफ माग

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएका कसरी न्यायाधीशमा नियुक्तबारे जवाफ माग्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सोबारे न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्ने बताएका हुन् ।

उनले परीक्षामा फेल भएका व्यक्ति पनि न्यायाधीश नियुक्ति हुँदा न्यायालयप्रतिको जनआस्थामा नै असर पर्न सक्ने बताए ।

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको रिक्त ३६ पदमा पदपूर्ति गरेको थियो । तीमध्ये ७ जना ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट र २९ जना खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने थियो । तर खुला प्रतिस्पर्धाबाट जम्मा १ जना उतीर्ण भए र बाँकी २८ पदमा कानुन सेवाका उपसचिवहरुबाट नियुक्त गरिएको थियो । यसरी नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए ।

सांसद बर्तौलाले खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेको २८ पदमा अर्को माध्यमबाट पदपूर्ति गर्न संविधानले अनुमति नदिएको बताए ।
‘परीक्षामा अनुतीर्ण भएकाहरु कसरी न्यायाधीश भए ? उनीहरुबाट कसरी न्यायको अनुभूति गर्न सक्छौं भन्ने आम जनताको प्रश्न छ, न्यायाधीश नियुक्तिमा संविधान कार्यान्वयन हुन सक्दैन भने माननीयज्यूहरु के हेरेर बस्नुभएको छ भनेका छन्’, सांसद बर्तौलाले भने ।