८ मंसिर २०८१, शनिबार 1732401035
पालिका

सूर्यविनायक नगरपालिकाले लम्पी स्किन पीडीत किसानलाई २७ लाख ५२ हजार बरावरको अनुदान वितरण

भक्तपुर : सूर्यविनायक नगरपालिकाले लम्पी स्किन पीडीत किसानहरुलाई क्षतिर्पूित स्वस्प अनुदान वितरण गरेको छ ।

नगरभित्र लम्पी स्कीन महामारीमा गाई मरेर क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिस्वस्प अनुदान सहयोग गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले अनुदान वितरण गर्नु भएको हो । नगरपालिकाले शुक्रबार र आइतबार १,२ ३,४, ५, ६,७, ८, ९ र १० वडाका किसानलाई राहत वितरण गरेको छ ।

नगरपालिकाको १० वटै वडाबाट लम्पी स्कीन रोगका कारण के कति क्षति भयो र के कति गाई मरे भनेर लगत संकलन गरेको थियो । लगत संकलनमा दुहुनो, ब्याउने र बाछी गरि ३१६ वटा गाई मरेको पाइएको थियो ।

नगरपालिकाको कार्यपालिका बैठकले मरेको दुहुनो गाई बरावर १० हजार र ब्याउने र बाछी बराबर ७ हजारको दरले राहत दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजीम नगरपालिकाले २४७ जना किसानलाई २७ लाख ५२ हजार रुपैयाँ बराबरको अनुदान वितरण गरेको हो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले लम्पी स्कीन रोगको कारण धेरै किसानको क्षति भएको र किसानलाई पशुपालन ब्यवसायबाट विस्थापीत हुन नपरोस भन्ने उद्देश्यले अनुदान सहयोग गरिएको बताउनुभयो ।

नगरपालिकाले राहत दिने निर्णय यसअघि नै गरेको भए पनि विविध कारणले वितरणमा ढिलो भएको पनि उहाँले बताउनुभयो ।लम्पी स्कीन महामारीको समयमा पशु चिकित्सकहरु पठाएर सकेको सहयोग गरेको बताउँदै नगर प्रमुख थापाले नगरपालिकाले सकेसम्म आफ्नो कर्तब्य निर्वाह गरेको र आगामी दिनमा पनि किसानको लागि थप कार्यक्रम ल्याइने बताउनुभयो ।

आर्थिक विकास समितिका संयोजक तथा वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले किसानलाई कृषि पेसामा आर्कषित गरि राख्न किसानलाई प्रोत्साहनस्वस्प अनुदान दिइएको बताउनुभयो ।

नेपालका स्थानीय तहमध्येकै पहिलो पटक सूर्यविनायकले अनुदान दिएको उहाँले बताउनुभयो । सिमित स्रोत र साधनका बाबजुत पनि अनुदान दिइएको बताउँदै यसलाई मल्लम पट्टीको रुपमा बुझीदिन उहाँले आग्रह गर्नुभयो ।

पहिलो दिनको कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, वडा नंं ६ का वडाध्यक्ष ईश्वर खडका, ९ का वडाध्यक्ष भगवान खत्री, १० का वडाध्यक्ष शिवराम रावत र कार्यपालिका सदस्य शर्मीला बस्नेतलगायत सहभागि हुनुहुन्थ्यो ।