८ मंसिर २०८१, शनिबार 1732396279
Banner

राष्ट्रपतिबाट भएको कैद मिनाहबारे संसद्मा उठाए ओलीले प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसको अवसरमा भएको कैद मिनाहबारे प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा उनले सोबारे प्रश्न उठाएका हुन् ।

संविधानको दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।

‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

सो कैद मिनाहबारे सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको थियो । त्यसैगरी आजै कैद सजाय मिनाह पाएका व्यक्तिविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ ।