काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले कोशी प्रदेशमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेसको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने, ‘कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ । सबै पदाधिकारी साथीहरुले सभापतिलाई त्यही सुझाव दिनु भएको छ ।’
यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो । पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।