९ कार्तिक २०८१, शुक्रबार 1729887604
Banner

कांग्रेस सांसदको अभिव्यक्ति माओवादीका संसद्वारा खण्डन

काठमाडौं । सत्ता गठबन्धन नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गरेको राष्ट्रिय सरकार गठन गर्न गरेको मागको प्रतिवाद माओवादी केन्द्रका सांसदले प्रतिवाद गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर गौतमले राष्ट्रिय सरकार गठनको माग गरेपछि लगत्तै बोलेका माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सोको प्रतिवाद गरेका हुन् ।

‘सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा रहने हो भने ‘’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारको विकल्प आवश्यक रहेको तर्क गर्दै कांग्रेस सांसद गौतमले भनेका थिए ।

कांग्रेस सांसद गौतमको भनाइको प्रतिवाद गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारको कामकारबाहीको बचाउ गरे । ‘सरकार सुशासन र सेवा प्रवाहमा दृढताका साथ अगाडि बढेको छ, यो अझ सशक्त बनोस्’, पाण्डेले भने ।

संघमा राष्ट्रिय सरकारको माग भइरहेका बेला कोशी प्रदेशमा नेपाली कांग्रेसका ८ सांसदले विद्रोह गरेका छन् ।