९ कार्तिक २०८१, शुक्रबार 1729887703
Banner

कोशीमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशीमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताएका छन् ।

आइतबार प्युठानको विजवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । कोशी प्रदेशमा मध्यावधिबाट जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको बताएका छन् ।

‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्, अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरुले विद्रोह गर्नुभएको हो, कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो, ८ सीटका पछि कांग्रेसको ह्वीप लागेपनि केही सांसदले विद्रोह गर्नुभयो’, ओलीले भने । उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको प्रष्ट्याए ।

उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनको सबैतिर संघीयताको वितृष्णा जगाएको बताए । ‘कोशीमा हेर्नुस् कतिपटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे, को को लाई कानून विपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो’, ओलीले भने ।

एमालेविरुद्ध घेराबन्दी हुँदा पनि नेकपा एमालेले देश बनाउँछ भन्ने विश्वासका साथ देशभरबाट साथ समर्थन पाएर धेरै मत पाएर पहिलो दल बनेपनि सरकार बनाउन बहुमत नभएकाले अहिलेको अवस्था आएको बताउँदै उनले भने, ‘यो माया आमाबुवा दाजुभाईको माया भन्दा बढी हो, प्यूठानमा सबै दलको घेराबन्दी हुँदा एमालेको अपार समर्थन प्यूठानले पाएको छ, यो एमालेको लागि ठूलो उपलब्धी हो, प्यूठानी जनतालाई सलाम गर्न चाहन्छु ।’

‘एमाले सकाउन हिंडेका आफैं सकिए, अझै सकिँदैछन्, यो मजबुत पार्टी हो, कठिन अवस्था पार गरेका छौं, ग्रासरुटपछि मिसन ८४ मा छौं । त्योभन्दा अघि पार्टीका सबै कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्नेछौं ।’ अध्यक्ष ओलीले भने ।