काठमाडौं । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर काँग्रेसले हरेक बर्ष चियापान कार्यक्रमको आयोजना गदै आईरहेको छ । काँग्रेसको चियापानमा राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका छन् ।
दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनीहरू पुगेका हुन्। शुभकामना तथा चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी नेताहरु सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेताहरु जनार्दन शर्मा, अग्नि सापकोटा, लगायतका नेताहरु सहभागी भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल, सचिव छबिलाल विश्वकर्मा र रघुजी पन्त लगायतका नेताहरु सहभागी भएका हुन्।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । एकीकृत समाजवादीका नेता घनश्याम भुसाल लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतका नेताहरु पनि कार्यक्रममा सहभागी भएका छन् ।
बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो। विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन्। कांग्रेसले बडादशैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।