काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रहरीले गए रातभर अप्रेसन चलाएर ५५ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट साढे १२ लाख रुपैयाँ नगद र ५३ गड्डी तास बरामद भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले गएराति वीरेन्द्रनगरका विभिन्न वडा तथा क्षेत्रमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता एवं सूचना अधिकारी दीपक मगराठीका अनुसार जुवा नियन्त्रण अभियानमा प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख आफैँ फिल्डमा खटिएका थिए ।
प्रहरीले जुवाखालबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरेको छ । भारतीय रुपैयाँको नेपाली मूल्य २१ हजार रुपैयाँ कायम गर्दा कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, ५२ पत्तिको ५३ गड्डी ताससमेत बरामद गरिएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगरका विभिन्न वडाका स्थानीयसहित सुर्खेतबाहिरका व्यक्ति पनि छन् । पक्राउ पर्नेमा अछाम, बर्दिया, जुम्ला, दैलेख र कैलालीका व्यक्ति तथा भारतको बिहारस्थित मतिहारी जिल्लाका दुई जना पनि रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही घरधनीसमेत छन् । उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।


